एक्समा इलन र ट्रम्पको ब्रोमान्स


काठमाडौँ — प्राविधिक समस्याका कारण झण्डै एक घण्टा ढिलो शुरु भएको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति इलन मस्कबीचको प्रतिक्षित अन्तर्वार्ता हाँसीमज्जा, विवाद र मुद्दामामिलाको विषय बनेको छ ।

सोमबार साँझ करिब एक लाख प्रयोगकर्ता सहभागी भएको एक्सको स्पेस प्लाटफर्ममा आयोजित कुराकानीमा इलनले ट्रम्पलाई मनपर्ने विषयहरू जस्तै अवैध आप्रवासी समुदाय, अमेरिकी अर्थतन्त्र लगायतबारे प्रश्न सोधेका थिए ।

सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा द‌ंगा भड्काएको आरोपमा विभिन्न सामाजिक सञ्जाल प्लाटफर्मसँगै तत्कालीन ट्वीटर (हाल एक्स) मा समेत प्रतिबन्धित ट्रम्प त्यसयता आफ्नै ट्रुथ सोसल नामक सामाजिक सञ्जालमा बढी केन्द्रित थिए ।

इलनले ट्वीटर किनेपछि उनीमाथिको प्रतिबन्ध हटाए पनि ट्रम्प यसमा अनुपस्थित नै रहे । गत वर्ष अगस्टमा आफ्नो मगसट (कैदीका रूपमा खिचिएको तस्बिर) ट्वीट गरेर एक्समा निष्क्रिय बनेका ट्रम्प सोमबारदेखि भने पुन: एक्समा फर्किएका हुन् ।

इलनसँगको अन्तरवार्तालगत्तै ट्रम्पले एक्समा चुनावी अभियानसम्बन्धी विज्ञापन पनि पोस्ट गर्न सुरु गरेका छन् । उनले पछिल्लो समय ट्वीट गरेको देशको आर्थिक अवस्थासम्बन्धी एउटा पोस्टमा १ करोड ४० लाख भ्युज पुगेको छ । आउँदो नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावका लागि इलनले ट्रम्पलाई खुला रूपमै ट्रम्प र उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सका पक्षमा मत माग्ने गरेका छन् ।

उनले ट्रम्पको चुनावी अभियानलाई सघाउन मासिक ४५ मिलियन डलर चन्दासमेत लिने घोषणा गरेर पछि होइन पनि भनिसके । राष्ट्रपति पदका लागि वर्तमान उपराष्ट्रपति कमला ह्यारिस अघि सरेसँगै सुरु भएको डेमोक्र्याटिक पार्टीतर्फको माहोल आफूतिर तान्ने प्रयास गरिरहेका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई इलनसँगको अन्तरवार्ताले फाइदाभन्दा विवाद र मिम बढी आइलागेको विज्ञहरूको विश्लेषण छ ।

झण्डै एक महिनाअघि चुनावी आमसभाका क्रममा आफूमाथि भएको गोली प्रहार, आफ्नो राष्ट्रपतिय कार्यकालको अनुभव र आफ्नो विदेश नीति लगायतका विषयमा खुलेर बोल्ने प्रयास गरेका ट्रम्पले चीन र उत्तर कोरियाका नेताहरूको प्रशंसासमेत गरेका थिए । यस्तै, उनले सँधैझैं अमेरिकाको सीमा समस्या, आप्रवासन, जलवायू परिवर्तन र मतदाता संख्याको विवादसँगै कोभिड-१९ लगायत विषयमा पनि मनमौजी र कतिपय भ्रामक तर्कहरू अघि सारेका थिए ।

सीएनएनले गरेको फ्याटचेक अनुसार दुई घण्टाको कुराकानीमा ट्रम्पले कम्तिमा २० वटा मिथ्या विवरण उल्लेख गरेका थिए । समुन्द्रको सतह बढ्दै गए धेरै व्यक्तीको समुद्रकै किनारमा घर हुनेजस्ता हाँस्यास्पद अभिव्यक्ति दिएका ट्रम्पले भेनेजुएला, कंगो, अफ्रिका, युक्रेन, म्याक्सिको, दक्षिण अमेरिकी देशहरू, इजरायलसँगै सबैजसो देशका सम्बन्धमा असत्य र बढाइचढाइ दाबीहरू प्रस्तुत गरेका थिए ।

झण्डै ६ करोड एक्स प्रयोगकर्ताले आफ्नो कुराकानी सुनिरहेको दाबी ट्रम्पले गरिरहँदा झण्डै ११ लाख व्यक्ती मात्रै उनीहरूको कुराकानीमा जोडिएको देखिएको थियो । ट्रम्पले इलनको प्रशंसा गर्दै उनले गत वर्ष आफ्ना कम्पनीहरूबाट कर्मचारी निष्कासन गरेको र आन्दोलनमा उत्रिएका कर्मचारी युनियनका विरुद्ध उनका अभिव्यक्त्तीबाट आफू प्रभावित भएको बताएका थिए ।

त्यसको प्रतिकृयामा इलनले हाँसेर समर्थन जनाएका थिए । कर्मचारीहरूको आन्दोलनलाई मजाकको विषय बनाएको र संगठित हुने अधिकारमा हस्तक्षेप गर्न खोजेको भन्दै अमेरिकाको युनाइटेड अटो वर्करर्सले ट्रम्प र मस्क दुवैविरुद्ध राष्ट्रिय श्रमिक मामिला बोर्डमा उजुरी दर्ता गरेको छ ।

ट्रम्प र मस्कबीचको पछिल्लो ‘ब्रोमान्स’ लाई सञ्चार माध्यममा दुई असफल सामाजिक सञ्जाल व्यवसायीबीचको कुराकानी भनेर पनि व्याख्या गरिएको छ । खासै सफल हुन नसकेको ट्रुथ सोसलका मालिक ट्रम्पले झण्डै दुई वर्षअघि ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेयता दुई तिहाइले ट्वीटरको बजार मूल्य गुमाइसकेका मस्कले एकअर्काको प्रशंसा, प्रवर्द्धन र बढाइचढाइ गरेको टिप्पणी पनि सुन्न पाइन्छ ।

सम्बन्धित समाचार