परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गर्ने
परराष्ट्र स्रोतका अनुसार भारतको प्रधानमन्त्री कार्यालयले परराष्ट्रमन्त्री राणासँग भेटवार्ताको लागि समय दिएको हो ।
मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली भ्रमणमा निस्केकी हुन् । परराष्ट्रमन्त्री नियुक्त भएपछिको राणाको यो पहिलो विदेश भ्रमण हो । मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भारतका लागि नेपालका कार्यवहाक राजदुत सुरेन्द्र थापा र भारतीय विदेशमन्त्रायका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरे ।
भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग सोमबार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयको भनाइ छ ।
मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरे । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् ।
मन्त्री राणाको सम्मानमा कार्यवहाक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्री भोज आयोजना गर्दैछन् । मन्त्री राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रायले जनाएको छ । राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।