फ्रेन्चाइज भलिबल लिगका खेलाडीहरू


काठमाडौँ — एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धी ६ टोलीका खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ । नेपाल भलिबल संघले यसअघि नै इन्फिनिटी ड्रिम्स प्रालिसँग मिलेर पहिलो पटक फ्रेन्चाइज अवधारणामा भलिबल लिग आयोजना गर्न लागेको जनाएको छ ।

टिम काठमाडौं, टिम ललितपुर, टिम मधेश, टिम गण्डकी, टिम चितवन र टिम कर्णालीले प्रतिस्पर्धा गर्नेछन् । एउटा टोलीमा ९ नेपाली र ३ विदेशी खेलाडी हुनेछन् । फ्रेन्चाइज टोलीका मुख्य आधिकारिक प्रशिक्षकको बैठकबाट ‘ड्राफ्ट र समझदारी प्रक्रियामा आधारित भएर ८ नेपाली खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।

प्रत्येक समूहमा ‘ए’ श्रेणी १, ‘बी’ श्रेणीका ४ र ‘सी’ श्रेणीका ३ खेलाडी राखिएको छ । ए’ श्रेणीमा रहनेले १ लाख ५० हजार, ‘बी’ श्रेणीमा रहनेले १ लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले ५० हजार पारिश्रमिक पाउनेछन् । बाँकी एक नेपाली खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट लिइने छ ।

सरस्वती चौधरी गण्डकीको मार्की खेलाडी छिन् । रुपेशकुमार विष्ट प्रशिक्षक रहेको गण्डकीमा ‘बी’ श्रेणीमा प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, कविता भट्ट तथा ‘सी’ श्रेणीमा आरती चौधरी, स्नेहा ठगुन्ना, सरस्वती जैसी छन् । सौरभ केडियाले टिम गण्डकीको स्वामित्व लिएका थिए ।

निरुता ठगुन्ना मार्की रहेको मधेश टोलीमा ‘बी’ श्रेणीमा पूजा थारु, संगम महत, जसना महतो र शान्ति तामाङ तथा ‘सी’ श्रेणीबाट हीरा केसी, आसिका क्षेत्री र एलिसा मानन्धर छन् । रोहित अग्रवाल र विशाल अग्रवालको स्वामित्वमा रहेको मधेशको मुख्य प्रशिक्षकमा भारत यादव छन् । कोरसिंक नेपालको स्वामित्व लिएको ललितपुरको मार्की खेलाडीमा सलिना श्रेष्ठ छन् । ‘बी’ श्रेणीमा पुनम चन्द, कामना विष्ट, सफिया पुन, निशा चौधरी र ‘सी’ श्रेणीमा अनुषा चौधरी, नेहा चौधरी र भावना तामाङ छन् । टोलीको प्रशिक्षकमा उत्सव खड्का छन् ।

सुमित्रा रेग्मीको नेतृत्वमा रहेको कर्णालीले ‘बी’ श्रेणीमा मीना सुनार, मनीषा चौधरी, यमुना रसाइली, सुनीता राई, ‘सी’ श्रेणीबाट सृष्टि खड्का, गरिमा बोहरा, पशुपति बोहरालाई लिएको छ । राजेश बडडिया र प्रतीक अधिकारीले स्वामित्व लिएको कर्णालीको मुख्य प्रशिक्षकमा कुमार राई छन् । नेपाली राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहने चितवनको ‘बी’ श्रेणीमा सलिना बुढामगर, जिनिश(ा विश्वकर्मा, एन्जेला प्रधान र सुनिता खड्का तथा ‘सी’ श्रेणीबाट भावना डाँगी, वाल्मीकि आचार्य र सरस्वती कट्टेललाई लिएको छ । निम्बस होल्डिङ्सको स्वामित्वमा रहेको चितवनको मुख्य प्रशिक्षकमा अर्जुन घिमिरे छन् ।

काभा उपविजेतालाई जनही ३ लाख

सरकारले काभा महिला नेसन्स लिग भलिबलमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा सम्पन्न नेसन्स लिग खेलका नेपालका १४ खेलाडीलाई जनही ३ लाख पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम २८ बमोजिमअनुसार काभा नेसन्स लिगमा उपविजेता भएपछि पुरस्कार प्रदान गर्न लागेको हो ।

त्यसअनुसार नेपाली टोलीका मुख्य प्रशिक्षक एक जनालाई दुई लाख, व्यवस्थापक, प्रशिक्षक र फिजियोलाई जनही १ लाख २० हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।

गत साता त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सम्पन्न नेसन्स लिग फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै उपाधि गुमाएको थियो । लिग चरणको खेलमा भने नेपालले पहिलोपल्ट परम्परागत प्रतिद्वन्द्वी भारतविरुद्ध जित हासिल गरेको थियो ।

सम्बन्धित समाचार