काठमाडौँ — उच्च शिक्षामा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशत साधारण धारतर्फका र २० प्रतिशतले प्राविधिक क्षेत्रको विषय रोजेको पाइएको छ । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार देशभर उच्च शिक्षामा प्राविधिक क्षेत्रभन्दा साधारणतर्फका विद्यार्थी धेरै देखिने गरेका हुन् ।
उच्च शिक्षाका सबैभन्दा धेरै विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा पढ्छन् । हरेक वर्ष उच्च शिक्षामा भर्ना हुने विद्यार्थीमध्ये करिब ८० प्रतिशतले त्रिवि रोज्ने गरेका छन् । २०८० असारदेखि गत जेठ मसान्तसम्म त्रिविबाट स्नातक, स्नातकोत्तर, एमफिल, पीजीडीएस र विद्यावारिधितर्फको पढाइ पूरा गर्ने विद्यार्थीको संख्या ७३ हजार ९ सय ९५ छ ।
तीमध्ये १५ हजार ३३ अर्थात् २०.३२ प्रतिशत विद्यार्थी मात्रै प्राविधिक क्षेत्रतर्फका रहेको त्रिविका रजिस्ट्रार केदारप्रसाद रिजालले बताए । उनका अनुसार ५८ हजार ९ सय ६२ जना अर्थात् ७९.६८ प्रतिशत विद्यार्थी साधारणतर्फका छन् । त्रिविमा वार्षिक साढे ५ लाख विद्यार्थी पढ्दै आएकामा समग्र उत्तीर्ण दर ३० प्रतिशतभन्दा कम रहँदै आएको तथ्यांक छ । त्रिविबाहेक धेरै विद्यार्थी भर्ना हुने पूर्वाञ्चल, पोखरा, काठमाडौं, मध्यपश्चिमलगायत विश्वविद्यालयमा पनि साधारण विषयतर्फका विद्यार्थीको संख्या उच्च छ ।
साधारण विषयतर्फ भने सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन संकायमा भर्ना हुँदै आएका छन् । त्रिविबाट आगामी पुसमा व्यवस्थापनतर्फ करिब ३१ हजार विद्यार्थी विभिन्न तह पूरा गरी दीक्षित हुँदै छन् । त्यसपछि मानविकी तथा सामाजिकशास्त्र संकायमा विद्यार्थीको चाप देखिन्छ । साढे १३ हजार विद्यार्थी दीक्षित हुँदै छन् । शिक्षाशास्त्र संकायमा ११ हजार ३ सय, विज्ञान तथा प्रविधिमा ७ हजार ११, कानुनमा ३ हजार ८६, इन्जिनियरिङतर्फ ५ हजार २ सय, चिकित्साशास्त्रमा १ हजार ८ सय ८९, कृषि र पशु विज्ञानमा ६ सय ४८ र वन विज्ञानतर्फ ३ सय ४ जना विद्यार्थी दीक्षित हुने त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
उच्च शिक्षाका लागि नेपालबाट विदेशिने विद्यार्थीमा प्राविधिक र साधारण दुवैतर्फका विद्यार्थी छन् । गत आर्थिक वर्षमा २८ हजार ८ सय १९ विद्यार्थीले व्यवस्थापन विषय अध्ययनमा जान अनुमतिपत्र (एनओसी) लिएको शिक्षा मन्त्रालयले जनाएको छ । बिजनेस विषयमा १० हजार २ सय २९ जनाले विदेश पढ्न जान अनुमति लिएका थिए । सबैभन्दा बढी जापानी भाषाका लागि साढे ३३ हजार जनाले अनुमति लिएका छन् । जापानमा भाषा अध्ययनपछि मात्रै अन्य विषयमा भर्ना हुन पाउने व्यवस्था छ ।
सूचना प्रविधितर्फ ५ हजार ९ सय ११ जना, विज्ञान संकायका लागि ५ हजार ३ सय ८४, कम्प्युटर साइन्समा करिब ५ हजार, स्वास्थ्यका विषयमा ४ हजार १ सय ५९ जना, विज्ञान प्रविधितर्फ ४ हजार १ सय, इन्जिनियरिङमा ४ हजार ४ सय २६, हस्पिटालिटीमा २ हजार ५ सय ४३ र मानविकी संकायमा १ हजार ८ सय १३ जना विद्यार्थीले एनओसी लिएका छन् । उक्त आर्थिक वर्षमा एक लाख १२ हजार ९३ जना विद्यार्थीले विदेश अध्ययन गर्न अनुमति लिएका थिए । यो छात्रवृत्तिमा समेत विदेश पढ्न जाने विद्यार्थीको संख्या हो ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले प्राविधिक शिक्षाको हिस्सा ७० प्रतिशत बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गत बिहीबार शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी कामसम्बन्धी क्षेत्रमा उनले प्राविधिक हिस्सातर्फको शिक्षामा जोड दिएको उनको सचिवालयले जनाएको छ । छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री विद्या भट्टराई, मुख्य सचिव लीलादेवी गड्तौला, शिक्षा सचिव दीपक काफ्ले सहभागी थिए ।
‘जति पढे पनि कुनै क्षेत्रमा काम गर्ने सीप छैन भने त्यस्तो जनशक्ति प्रयोगविहीन हुन्छ, रोजगारी पनि पाउने सम्भावना हुँदैन । त्यसैले सीपमूलक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ,’ ओलीको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ, ‘उच्च आचरणयुक्त जनशक्ति तयार गर्न आवश्यक भएकाले सोहीअनुसार नीति निर्माण र कार्यान्वयन गर्नुपर्छ ।’
त्रिभुवन विश्वविद्यालय गणित विभागका पूर्वप्रमुख प्राध्यापक टंकनाथ धमलाले प्रधानमन्त्रीले भनेजस्तो २० प्रतिशतलाई ७० प्रतिशत पुर्याउने सम्भावना नरहेको टिप्पणी गरे । ‘सीटीईभीटीको जस्तो तालिम मात्रै दिने कुरा प्रधानमन्त्रीले भन्नुभएको भए छुट्टै कुरा भयो । तालिमको शिक्षामा काम छैन,’ उनले भने, ‘उच्च शिक्षामा प्राविधिक धार भने पनि सामाजिक विज्ञानलाई छाड्न सकिँदैन । इतिहास, संस्कृति, सामाजिक विज्ञान अनिवार्य चाहिन्छ ।’ प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै जानुपर्ने भए पनि एकैपटक प्राविधिक मात्र भन्दा शिक्षाक्षेत्र झन् खतम हुने उनले औंल्याए ।
त्रिवि माइक्रोबायोलोजी विभागका पूर्वप्रमुख प्राध्यापक प्रकाश घिमिरेले यतिबेला जनशक्ति उत्पादनभन्दा पनि विद्यार्थीलाई देशमै बस्ने वातावरणको खाँचो रहेको औंल्याए । ‘प्राविधिक विषय पढाएर मात्र पुग्दैन । पढिसकेका युवा रोजगारीका लागि विदेश गइरहेका छन्,’ उनले भने, ‘उनीहरूलाई रोक्ने होइन । रोक्न पनि मिल्दैन । यही बस्ने वातावरण बनाउनुपर्छ । वातावरण भए गएका पनि फर्कन्छन् ।’ प्राविधिक जनशक्तिलाई उद्योग, व्यवसाय र रोजगारीसँग जोड्न नसके बेरोजगार मात्र उत्पादन हुने उनले जनाए ।
‘देशमा विश्वविद्यालय र लोक सेवाबाहेक रोजगारीको अन्यत्र ठाउँ देखिँदैन । उद्योग व्यवसायसँग पढाइलाई जोड्नुपर्छ,’ घिमिरेले भने । साधारण धारतर्फका विषयमा पनि प्राविधिक विषयवस्तुलाई जोड दिनुपर्ने उनले सुझाव दिए । ‘विश्वविद्यालयमा भीड मात्र जम्मा गरेर हुँदैन । कक्षा १० र कक्षा १२ मा सफल हुन नसकेका विद्यार्थीलाई सीप सिकाएर मध्यम स्तरको जनशक्तिमा लैजान सक्नुपर्छ,’ उनले भने ।