जर्मनीमा ‘१९७४ एडी’ को कन्सर्ट


काठमाडौँ — '१९७४ एडी ब्याण्ड'ले भदौ ८ मा जर्मनीमा प्रस्तुति दिने भएको छ । जर्मनीको स्टुगार्टमा कन्सर्ट हुन लागेको ब्याण्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए ।

३० औं वर्षगाँठको अवसर पारेर विश्वयात्रा गरिरहेको ब्याण्डले यसअघि मे र जुन महिनामा अमेरिकाका आधा दर्जन शहरमा कन्सर्टमा प्रस्तुति दियो । त्यस्तै, जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो शहरमा पनि ब्यान्ड गुञ्जिएको थियो । जर्मनीको टूर पश्चात् ४ देखि २१ सेप्टेम्बरसम्म अस्ट्रेलियाका सातवटा शहरमा ब्याण्डले प्रस्तुति दिने बताइएको छ ।

यो ब्यान्ड १९७४ सन् २०१९ मा पुनर्मिलन भएको हो । ब्यान्डले त्यसपछि नै विश्वयात्रा गर्ने तय गरेको थियो । तर, कोभिडका कारण यात्रा सुरु गर्न पाएनन् । कोभिडपछि भने ब्यान्डको ३० औं वर्षगाँठको अवसरमा यसरी फ्यानहरुबीच प्रस्तुति दिँदै यात्रा गर्न पाउँदा खुशी अनुभव भएको ब्यान्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, ब्यान्डका संस्थापकमध्येको एक बेशिष्ट निराकार याकथुङ्बाले ३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले सँगै गएर आफ्ना पुराना र नयाँ सबै फ्यानहरूसँग एकैपल्ट जोडिन पाउँदा भिन्न अनुभव भएको बताएका छन् ।

३० औं वर्ष पुगेकै अवसरमा ब्याण्डले केही समयअगाडि आफ्नो 'हजार सपना' गीतको भिडियो पनि बनाएको थियो । आर्टमाण्डुसँगको सहकार्यमा बनाइएको उक्त भिडियो ब्याण्डकै आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ ।

सम्बन्धित समाचार